सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउँछौँ : अध्यक्ष लोहनी

१ महिना अगाडि

काठमाडौँ । सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्न वकालत भइरहेको बताएका छन् ।

आठौँ स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै लोहनीले आउँदो वर्षदेखि औपचारिक क्षेत्रमा बीमित सङ्ख्या बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छन् । उनले भने , “स्वास्थ्य बीमा कार्ड अनिवार्य गराउने भनेर लागि परेका छौँ। डिजिटल कार्डमार्फत पनि बीमितलाई सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गरिएको छ ।”

उनले आगामी दिनमा अनुगमनका कार्यक्रम बढाउने र राम्रो सेवा नदिने सेवा प्रदायक संस्थालाई सेवा दिनबाट हटाइने बताएका छन्। बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले स्वास्थ्य बीमाप्रति धेरैजना नकारात्मक सुनिए पनि यथार्थमा त्यो नरहेको बताए । उनले भने, “स्वास्थ्य बीमाप्रति धेरै अपेक्षा छ त्यो पूर्ण रुपमा पूरा गर्न नसकिएको हो । कुनै ठाउँमा सेवा एकदमै राम्रो पनि छ । कुनैमा नभएका पनि छन् । हामीसँग स्वास्थ्य बीमालाई फेल हुन दिन छुट छैन ।”

स्वास्थ्य बीमा कार्यक्रममा अनलाइन प्रणालीबाट आबद्ध हुनका लागि तयारीको कार्य अगाडि बढाइएको उनको भनाई छ। उनले भने“एकपटक प्रेषण भई आएका बिरामीलाई सोही रोगको फलोअपका लागि पुनःप्रेषण पुर्जी लिइरहन नपर्ने गरी व्यवस्था गरिएको छ।” उनले हाल सुविधा थैलीमा रहेको औषधि तथा सेवा प्याकेजको शुल्क समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।

त्यसैगरी बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमाका बारेमा अझै पनि जनमानसलाई बुझाउन नसकेको बताए। उनले भने , “बीमाको उद्देश्य त हुनेले नहुनेलाई सहयोग गर्ने हो । भविष्यमा एकद्वार प्रणाली लागू गरे सेवा दिन सजिलो हुन्छ । व्यवस्थित भएर जानुपर्नेछ ।”

विसं २०७८ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौँ उपत्यकाको एउटा स्थानीय तह ९बुढानिलकण्ठ नपा० मा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डले जनाएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया