यू–१६ साइकल दौड

३ हप्ता अगाडि

काठमाडौँ - हेटौँडामा पहिलो पटक आयोजित १६ वर्ष मुनिको साइकल प्रतियोगितामा आयुस दास प्रथम भएका छन् । 

२६ जनालाई पछि पार्दै प्रथम भएका दासले पौने तीन किलोमिटरको दुरी पाँच मिनेट २७ सेकेन्डमा पार गरेका हुन् । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा शनिबा  विहान हेटौँडा–४ हुप्रचौर परिसरमा भएको प्रतियोगितामा पाँच मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै अनमोल दास द्वितिय, पाँच मिनेट ४७ सेकेन्डमा रिजन फुँयाल तृतिय भए। त्यस्तै प्रतियोगितामा पाँच मिनेट ४८ सेकेन्डमा दुरी पार गर्दै बरुण श्रेष्ठ चौथो, पाँच मिनेट ४९ सेकेन्डमा सोहन अग्रवाल पाँचौँ भए । प्रतियोगितामा साईष्टु घिमिरे र गरिमा गौतमलाई महिला सहभागिताका लागि प्रमाण पत्र प्रदान गर्दै हौसला प्रदान गरिएको थियो । 

प्रतियोगिताका बिजेता प्रथमले पाँच हजार रुपियाँँ, दोस्रोले तीन हजार रुपियाँ र तेस्रोले दुई हजार रुपियाँ पुरस्कार पाए । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले विजयीलाई पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे । प्रतियोगितामा मकवानपुरभित्र स्थायी बसोबास गर्ने, १० वर्षदेखि १६ वर्ष उमेरसमूहका बालबालिका सहभागि भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुर उपाध्यक्ष राजु थापाले जानकारी  दिए । स्वास्थ्य र पर्यावरणका लागि साइकल प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए  । सोसाइटीले संयोजन गरेर रसुवागढी (तिब्बतको केरुङ नाका) देखि पर्साको ठोरी नाकासम्म १० जनाले उत्तरदक्षिण साइकलयात्रा, १३ जनाको सहमागितामा मेचि-महाकाली साइकलयात्रा सम्पन्न गरिसकेको छ । 


 

३ हप्ता अगाडि

प्रतिक्रिया