डुबान रोक्न कोरिडोर निर्माण

३ हप्ता अगाडि

काठमाडौँ - इटहरी उपमहानगरपालिकाले अवैध भौतिक संरचना भत्काउन दिएको अल्टिमेटम अटेर गरेपछि उपमहानगर आफैले भत्काउन सुरु गरेको छ। 

मेयर हेमकर्ण पौडेलले गत मङ्गलवारबाट ताल तलैया क्षेत्रका टेङ्ग्रा खोलाको क्षेत्राधिकार भित्र रहेका अवैध संरचना भत्काउन सुरु गरेको  बताएका छन् । अहिलेसम्म करिब १ किलोमिटर भन्दा बढी क्षेत्र सफा भइसकेको सफाई अभियानका संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए । उनका अनुसार टेग्राखोला सफाई अभियानमा ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरिएको छ । अमिन र इन्जिनियर सहितको २४ जनाको प्राविधिक टोली काममा खटिएका छन् । २ ग्रुपमा विभाजन भएको प्राविधिक टोलीले फिल्डमा आवश्यक समन्वयको काम गर्छ । कानुनी विषयमा कानुनी मामिला शाखाका कमल पोख्रेलले सहजीकरण गर्छन् भने प्रशासनिक शाखाको तर्फबाट सञ्जीव खड्काले आवश्यक समन्वयको काम गरिरहेको उनको भनाइ छ ।

३६ जनाको नगर प्रहरीले बिहान, दिउँसो र बेलुका गरी सुरक्षा दिने गरेको उपमहानगरले जनाएको छ । इटहरी उपमहानगरका ३ स्काभेटर र २ वटा जेसिबीले टेग्राखोलाको क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउने र सफा गर्ने काम गरिरहेको चौधरीले बताए । खोलाको पानी बग्ने भागको ३५ फिट क्षेत्रमा रहेका रुख, बाँसका झ्याङ, अन्य झारपात पनि सफा गर्ने गरिएको छ । अहिले वडा नम्बर ३ क्षेत्रमा सफाइको काम हुँदै भन्दै मुख्य बजार क्षेत्रको टेङ्ग्रा पुलसम्म पुग्ने उनी बताउँछन्। १५ देखि २० दिनभित्रमा टेङ्ग्रा पुलसम्म पुग्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले  बताए ।सोही क्रमले इटहरीको दक्षिणी सीमा जोडिएको स्थान सम्म सफाई गरिने उपमहानगरको योजना रहेको छ । टेँग्राखोलाको मुहानदेखि दक्षिणी सीमासम्म ७४ वटा संरचना खोला मिचेर बनाइएको उपमहानगरले जनाएको छ ।

ताल तलैयाको मुहानबाट दक्षिणतर्फ खेला धेरै अतिक्रमण गरेको  छ । टेङ्ग्रा कोरिडोरको काम पनि सँगसँगै उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अघि सारेको छ ।विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले योजना बनाएको छ । ताल तलैयाको मुहानदेखि दक्षिणी सीमा जोडिएको ठाउँसम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुने उपमहानगरले जनाएको छ । मेयर पौडेलले भने, ‘पानी बग्ने खोलाको भागलाई ३५ फिट छुट्ट्याइएको छ । त्यहाँबाट दायाँ बायाँ २०\२० फिट थप कोरिडोरका लागि सफा गर्ने काम पनि हुँदै छ । कोरिडोरका लागि वाल लगाउने जेसिबी र स्काभेटरले खन्दै पनि आएको छ ।’खोला सफाई र साइड क्लियरेन्सको काम सकिन साथ विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए । आर्थिक वर्षमा यो काम सम्पन्न गर्ने लक्ष्य साथ काम अगाडि बढाइएको उनको भनाइ छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया