किन्ताङफेदी खण्डमा चाइनिज बेलीब्रिज निर्माणको काम ९५ प्रतिशत सम्पन्न

३ हप्ता अगाडि

काठमाडौँ- उत्तरी धादिङको लाइफलाइन मानिने खनियाँबास गाउँपालिका–४ स्थित दामन–पाख्रिनमार्गको किन्ताङफेदी खण्डमा चाइनिज बेलीब्रिज निर्माणको काम ९५ प्रतिशत सकिएको छ । 

उत्तरी धादिङलाई सदरमुकाम जोड्ने प्रमुख मार्ग भएकाले पुल निर्माण गर्न चासो दिएर क्रियाशील भएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । यहाँ पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेको छ ।

उत्तरी धादिङको रुबिभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डवजोङ गाउँपालिकालाई जोड्ने एक सय ४० फिट लम्बाइ र ४।२ मिटर चौडाइको पुल निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले बताए । पुल निर्माणको काम ९५ प्रतिशत सकिएको खनियाँबास गाउँपालिकाका इन्जिनियर जीवन गुरुङले बताए । ‘किन्ताङफेदीमा बन्दै गरेको चाइनिज ब्रिजको दुवै भागमा फुटपाथ रहने गरी पुल निर्माण गरिएको छ,’ उनले भने । ट्रयाक खोलेको झन्डै चार दशकपछि किन्ताङ खोलामा चाइनिज ब्रिज हाल्ने काम सकिन लागेपछि स्थानीय खुसी छन् । पुल बनेपछि स्थानीयको जीवन फेरिने खनियाँबासका बासिन्दा प्रकाश तामाङले बताए । ‘पुल बनेपछि हामी नागरिकले कति राहत पाउँछौँ, कल्पनै गर्न सकिन्न । सडक छ, तर अहिले घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य छौँ । कृषिजन्य उत्पादन गाउँमा कुहिएर बसेको छ । तर, बजारसम्म लैजान सकिएको छैन,’ उनले भने, ‘कृषिजन्य उत्पादन बिक्री गरेर घर खर्च चलाउने र चाडपर्व मनाउने हाम्रो सपना पुल बनेसँगै पूरा हुने अपेक्षामा छौँ ।’

३ हप्ता अगाडि

प्रतिक्रिया