काठमाडौं –जनप्रतिनिधिहरु पनि भ्रष्टाचारमा फस्न थालेपछि स्थानीय विकास र सरोकारका विषयहरु कमजोर बन्ने आँकलन हुन थालेको छ । विकास निर्माणका कामहरु अघि बढाउँदा अख्तियारको फन्दामा परिने डरले बजेटै खर्च नहुने खतरा बढेको बताइन्छ । यस्तै केस सर्लाहीमा भएको छ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको भन्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारको दाबी अनुसार मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेका छन् । साथै, यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।
सार्वजनिक सेवामा बहाल रहँदा थापाले अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारको दावी छ ।
प्रतिक्रिया