चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच भेटवार्ता

३ हप्ता अगाडि

बेइजिङ–चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधवार बेइजिङमा भेटवार्ता भएको छ ।

‘राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,’ चीनको सरकारी प्रसारक सीसीटीभीले आफ्नो समाचारमा जनाएको छ । बेइजिङ र ताइपेइमा उहाँहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।

ताइवानलाई आफ्नो भू–भाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’का लागि अप्रिल १ मा चीन आएका थिए ।  उनले २० जना ताइवानी विद्यार्थीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका प्रविधि फर्म, विश्वविद्यालय र ऐतिहासिक स्थलको भ्रमण गरेका छन् ।

माले प्रस्थान गर्नुअघि युवा आदानप्रदानलाई बढावा दिने र बेइजिङसँगको ‘तनाव कम गर्नु र सद्भाव बढाउनु’ भ्रमणको उद्देश्य रहेको बताएका छन् । 

माले कुओमिन्ताङ ९केएमटी० पार्टीको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१६ सम्म ताइवानको नेताको रूपमा दुई कार्यकाल सम्हालेका थिए ।  माले सन् २०१५ मा सिङ्गापुरमा सीसँग ऐतिहासिक शिखर वार्ता गरेका थिए । 

तर सन् २०१६ मा बेइजिङको दाबीलाई अस्वीकार गर्ने उनका उत्तराधिकारी साई इङ–वेनको निर्वाचनपछि चीन ताइवानबीचको सम्बन्ध चिसिएको छ । गत जनवरीमा चीनप्रति बढी आक्रामक मानिने ताइवानी नेता लाइ चिङ–तेको निर्वाचनले सीमापार सम्बन्धमा थप तनाव आएको छ र बेइजिङले उनलाई ‘खतरनाक पृथकतावादी’को संज्ञा दिएको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया