ताप्लेजुङमा महोत्सव हुने

२ हप्ता अगाडि

काठमाडौँ - ताप्लेजुङमा जेठको पहिलो साता ‘ताप्लेजुङ पर्यटन महोत्सव '२०८१’ आयोजना हुने भएको छ ।

जेठ ३ देखि ७ गतेसम्म पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सव आयोजना हुने भएको हो । जिल्ला समन्वय समितिको समन्वयमा बसेको जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्थाका प्रमुख तथा सरोकारवालाको सहभागितामा बुधबार बसेको बैठकले ताप्लेजुङ पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । पर्यटकीय जिल्लाको रूपमा रहेको ताप्लेजुङको थप पर्यटन प्रवर्धन गर्ने साथै पर्यटन विकासमा टेवा दिने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिए ।

लामाका अनुसार सदरमुकाम फुङ्लिङस्थित नेपाली सेनाको दुर्गा दल गुल्मको प्राङ्गणमा महोत्सव आयोजना गर्न प्रस्ताव गरिएको छ । यस्तै, महोत्सवमा पर्यटकीयस्थलको अवलोकन, खाद्य परिकार महोत्सव, होमस्टे ९घरबास० प्रवर्धन र मेयरकप भलिबल प्रतियोगिता सञ्चालनजस्ता गतिविधि गरिने छ । यसैगरी पाथीभरा खुला म्याराथन प्रतियोगिता, लोकझाँकी तथा सांस्कृतिक प्रस्तुति, डोको क्यारी दौड, चोयाको डोको बुन्ने र पातको टपरी बुन्ने प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ । महोत्सवकै अवसरमा तेस्रो औद्योगिक तथा कृषि प्रदर्शनी मेलासमेत आयोजना गर्नेगरी तयारी सुरु गरिएको छ । महोत्सव आयोजनाले विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, फुङफुङ्गे झरना, तिम्बुङ पोखरी, सिँजेमा तालजस्ता जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया