राष्ट्रपति रनिङ शिल्डको ट्रफी सार्वजनिक

२ हप्ता अगाडि

काठमाडौं- राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आगामी वैशाख ४ गतेदेखि हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको ट्रफी राष्ट्रिय खेलकुद परिषदले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम छ ।

एथलेटिक्स खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराँते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ । एथलेटिक्सको छात्र छात्रामा समान १३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६ गरी ३६ स्वर्ण तथा स्वर्णका लागि स्पर्धा हुनेछ । भलिबल र कबड्डीको छात्र/छात्रमा समान एक गरी चार स्वर्णका लागि कुल ६६ स्वर्णका प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडी सहभागी हुने राखेपले जनाएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ शिल्ड प्रदान गरिने छ ।

यसअघि लुम्बिनी प्रदेशले लगातार तीन संस्करण जित्दै रनिङ शिल्ड आफ्नै बनाइसकेको छ । यो पटक नयाँ रनिङ शिल्ड तयार पारेको परिषदले जनाएको छ । समग्रमा उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका लागि सरकारले एक करोड ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया