मध्य तमोरको प्रसारण लाइन कोशी कोरिडोरमा जोडियो

२ हप्ता अगाडि

काठमाडौँ -  नेपाल विद्युत प्राधिकरणको तेह्रथुमको वसन्तपुरमा रहेको २२० केभीए क्षमताको कोशी कोरिडोर सव–स्टेसनमार्फत मध्यतमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको   छ । 
 सानिमा मिडिल हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित मध्यतमोर जलविद्युत आयोजनाको ७३ मेगावाट विद्युत शुक्रबार कोशी कोरिडोर सव–स्टेसनमा जडान गरिएको र विद्युत परीक्षण सफल भएको आयोजनाका प्रवन्धक डाक्टर मणिराज पोखरेलले जानकारी दिए । डा. पोखरेलका अनुसार नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको उपस्थितिमा मध्यतमोरबाट उत्पादित विद्युत कोशी कोरिडोरमा जडान गरी परीक्षण गरिएको हो। 

तेह्रथुमको बसन्तपुरस्थित कोशी कोरिडोर सव–स्टेसनमार्फत मध्यतमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा सिंक्रोनाइज (एकीकृत) गरिएको उनले जानकारी दिए।  कोशी कोरिडोरमार्फत विद्युत जडानको परीक्षण कार्य सफल भएसँगै केही दिनबाटै मध्यतमोरको विद्युत पूर्णरुपले राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने पनि उनको भनाइ छ। नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर सव–स्टेसनमार्फत नै राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक जडान हुने आयोजनाले जनाएको छ।  आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द्र श्रेष्ठका अनुसार कोशी कोरिडोर सव–स्टेसनसम्म प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाका सम्पूर्ण संरचनाहरु निर्माण सम्पन्न भएका छन्।  

अब आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने उनले बताए।  यसअघि आयोजनाबाट उत्पादन हुने विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो।  कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाँघु सव–स्टेसनको क्षमता सुरुमा २२० केभीए भनेपनि पछि १३२ केभीए मात्र भएपछि मध्यतमोर आयोजनाबाट उत्पादित विद्युत बसन्तपुरसम्म पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नुपरेको हो।  

२ हप्ता अगाडि

प्रतिक्रिया