इनसाइड ट्रेडिङका आरोपी न्यौपानेलाई २ वर्ष कैद सजाय

२ हप्ता अगाडि

काठमाडौं –रिडी हाइड्रोपावर डेभलपमेन्ट प्रालिका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई विशेष अदालतले सेयरको भित्री कारोबार (इन्साइड ट्रेडिङ) को अभियोगमा  २ वर्ष कैद सजाय सुनाएको छ। बिगो र जरिवाना गरी करिब ६ करोड रूपैयाँबराबर रकम असुल्नुपर्ने ठहर पनि अदालतले गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार न्यौपानेले आफै अध्यक्ष रहेको कम्पनीको भित्री सूचनामा भएको पहुँचको दुरुपयोग गरी गैरकानुनी रूपमा १ करोड ९९ लाख १० हजार रूपैयाँ लाभ लिएको ठहर गरेको छ। यो बिगो रकमसँगै यसको दोब्बरले हुने ३ करोड ९८ लाख २० हजार रूपैयाँ जरिवाना पनि हुने फैसला सुनाएको छ। यो सबै रकम जोड्दा ५ करोड ९७ लाख तिर्नुपर्ने देखिएको छ।

न्यौपाने ७३ वर्षका ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद ठहर भए पनि ५० प्रतिशत छुट पाउने भएकाले १ वर्ष मात्रै कैद गर्न पनि फैसलामा भनिएको छ। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई चैत ७ गते  दोषी ठहर गरे पनि आइतबार सजाय निर्धारण गरेको हो।

 उनी विरूद्ध सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिकमा मुद्दा दायर गरेको थियो।

२ हप्ता अगाडि

प्रतिक्रिया