एक वर्षमा विपद्‍का कारण ४९३ जनाको मृत्यु

२ हप्ता अगाडि

काठमाडौँ - २०८० सालमा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु ,  ३१ जना बेपत्ता र १,६१६ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभाभावित भएका थिए। विपद्जन्य घटनाका कारण पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ। गत वर्ष पहिरो, बाढी, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायत घटना भएका थिए। गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए।

मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका थिए। त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो पाँच सय ६ जना घाइते भएका थिए। कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए। आगलागीबाट रु दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो । यसै गरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए। त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए। जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए।

२ हप्ता अगाडि

प्रतिक्रिया