मुस्ताङका सडक र पुल निर्माण योजनाका लागि १८ करोड बजेट

१ हप्ता अगाडि

काठमाडौँ - तल्लो मुस्ताङमा सडक र पुलका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०\८१ देखि कार्यान्वयनमा ल्याउने गरी ३ सडक र पुल निर्माण योजनाका लागि १८ करोड ५७ लाख ८८ हजार रुपैयाँको योजना स्वीकृत गरिएको छ। 

गण्डकी प्रदेश, मुस्ताङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का लागि चालु वर्ष गण्डकी प्रदेश सरकारले २ सडक र १ पुलका लागि बहुवर्षीय योजनाका लागि बजेट खाका वृद्धि गराएर बजेट सुनिश्चित गराएको छ। प्रदेश सांसद विकल शेरचनको पहलमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १,२ र ३ वडा जोड्ने ‘एक निर्वाचन क्षेत्र एक सडक योजना’ का लागि रानीपौवा, छेंगुर, झोङ र तेताङ जोड्ने सडकमा १० करोड रुपैयाँ बजेट सुनिश्चित भएको हो।

प्रदेश सांसद शेरचनले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ओझेलमा परेका गाउँहरू जोड्ने सडक प्राथमिकतामा राखेको बताए। यो सडक बहुवर्षीैय रणनीतिक महत्वको सडक भएकाले चालु वर्ष प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको बताए। ‘सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ, क्रमागत रुपले बजेट थपिँदै जान्छ,’ सांसद शेरचनले भने, ‘१० करोडको सडक योजना पूरा भएपछि जोमसोम-कोरला राजमार्ग सडक यो सडक रिङरोडले समेत जोडिने छ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निकै विकासले पछि परेको तेताङ गाउँदेखि मुक्तिनाथ रानीपौवासम्म १० किलोमिटर सडक निर्माण हुने पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए। कार्यालय प्रमुख श्रेष्ठका अनुसार ‘एक निर्वाचन क्षेत्र एक सडक’ योजनाका लागि ठेक्का आह्वान भइसकेको बताए । वारागुङको तेताङदेखि मुक्तिनाथ सडक निर्माण योजनाका लागि ४ किलोमिटर कालोपत्र सडक र ६ किलोमिटर ग्राभेल सडकको रूपमा  विस्तार हुनेछ। वारागुङ मुक्ति क्षेत्रको १,२ र ३ वडा जोड्ने सडकमा २.५ किलोमिटर सडकको नयाँ ट्याक खोल्ने गरी सडकको डीपीआर तयार भएको कार्यालय प्रमुख श्रेष्ठले जनाए। सडक ६.५ मिटर चौडा हुनेछ।

प्रदेश निर्वाचन क्षेत्र एक सडकअन्तर्गत वारागुङ मुक्तिक्षेत्र-१ को रानीपौवादेखि छेंगुर खोलासम्मको दुरीमा ४ किलोमिटर अल्फाल्ट कालोपत्र हुने पूर्वाधार विकास कार्यालय मुस्ताङको भनाइ छ। बारागुङ-३ तेताङ, झोङ, छेंगुर र रानीपौवा जोड्ने सडकले उपल्लो मुस्ताङका नागरिक तथा उपल्लो मुस्ताङमा भ्रमण गरेर फर्किने पर्यटकलाई मुक्तिनाथ जान छोटो दूरीको सडक कायम हुने बताइएको छ। यो सडक निर्माण सम्पन्न भएमा त्यस क्षेत्रका किसानले उत्पादन गरेका कृषिउपजका सामग्रीको बजारीकरण गर्नसमेत सहज हुने विश्वास गरिएको छ। गण्डकी प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक निर्माण योजनाका लागि मनाङ र मुस्ताङमा १०\१० करोड र प्रदेशका अन्य जिल्लाहरूमा ५\५ करोड  रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङको भनाइ छ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया