गुरगी सिँचाइ योजनाका लागि किसानले थाले हस्ताक्षर अभियान

१ हप्ता अगाडि

काठमाडौँ - कैलारीका किसानहरू योजना निर्माणको लागि १२ करोड बजेट विनियोजन भए पनि निर्माणमा बेवास्ता गरिएपछि विशाल हस्ताक्षर अभियान सुरु गरेका छन् । चैत्र गते मात्रै योजना कार्यान्वयनको लागि सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय धर्ना दिएका किसानले शनिबारदेखि हस्ताक्षर अभियान सुरु गरेका छन् ।

योजना कार्यान्वयनको लागि गाउँ–गाउँमा हस्ताक्षर सङ्कलन गरेर प्रदेश सरकारलाई बुझाउने र त्यतिले पनि कार्यान्वयनको प्रक्रिया अगाडि नबढाए कडा सङ्घर्षको कार्यक्रम गर्ने सङ्घर्ष समितिका संयोजक कमल प्रसाद चौधरीले बताए । यसैबिच किसानहरूले एसएमएस अभियानमा थालेका छन् । बजेट हुँदा हुँदै पनि गुरगी योजना किन बनेन भनेर किसानहरूले सुदूरपश्चिमका सांसद, मन्त्री, मुख्यमन्त्रीसहित नेताहरुलाई एसएमएस पठाउने अभियान सञ्चालन गरेका हुन् ।

कैलारी गाउँपालिका २ कुकुरभुक्कास्थित कटैनी नदीमा बहुवर्षीय योजनाको रूपमा लिइएको गुरगी सिँचाइ योजनाको लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १२ करोड बजेट विनियोजन गरिएको हो । गत आर्थिक वर्षमा पनि ६ करोड बजेट विनियोजन गरिएको थियो । तर कार्यान्वयनमा नगएपछि स्थानीय किसानहरू आन्दोलित भएका हुन् । उनीहरुले योजना कार्यान्वयन तत्काल हुनुपर्ने भन्दै सङ्घर्ष थालेका हुन् ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया