तीन कम्पनीको एकैदिन साधारण सभा बस्दै, कसको के प्रस्ताव  ?

विहीबार, २० बैशाख २०८१, ०७ : ११

काठमाडाै - आज वैशाख २० गते बिहीबार ३ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यसदिन प्रभु बैंक, प्रभु इन्सुरेन्स र रिभर फल्स पावर कम्पनीले साधारण सभा बोलाएका हुन् । यी मध्ये प्रभु इन्सुरेन्सले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । प्रभु बैंक र रिभर फल्स पावरले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन् ।

प्रभु बैंकको वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।  सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । 

यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

रिभर फल्स पावर कम्पनीको २ आर्थिक वर्षको वार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

साधारण सभाले सर्वसाधारण लगानीकर्ताकोतर्फबाट २ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते बुक क्लोज गरिसकेको छ । वैशाख ९ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

विहीबार, २० बैशाख २०८१, ०७ : ११

प्रतिक्रिया