काठमाडौँ–तराई\मधेस द्रुतमार्गको ३३ प्रतिशत काम सम्पन्न

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौँ-तराई\मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आज राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौँ–तराईरमधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो । 

कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टिगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिए । उनले आयोजनाको चालु आर्थिक वर्ष २०८०\८१ को वार्षिक लक्ष्यको तुलनामा हालसम्मको भौतिक प्रगति ८२.७७ प्रतिशत र वित्तीय प्रगति ६९.४१ प्रतिशत रहेको पनि जानकारी दिए ।कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको यस द्रुत मार्गमा जम्मा लम्बाई १०.०५५ किलोमिटर हुनेगरी ६ स्थानमा सुरुङ निर्माण हुने जनाइएको छ ।

त्यस्तै १२.८८५ किमी लम्बाई हुनेगरी ८९ स्थानमा पुल निर्माण हुनेछ । ६ वटामध्ये ३ वटा सुरुङ निर्माणको क्रममा रहेको र ३ वटामा खरिद सम्झौता भएर प्रक्रिया अगाडी बढेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए । उनका अनुसार ८९ पुलहरू मध्ये ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र ४ वटा जग्गा अधिग्रहण सम्बन्धी समस्या रहेको खोकना क्षेत्रमा परेको छ । कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो द्रुत मार्ग २०८३ साल चैत मसान्तमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।  

१ हप्ता अगाडि

प्रतिक्रिया