काठमाडौँ - आदर्श नारी सीताको जन्म भएको दिन आज मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ ।
सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ । पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ । जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण भएपनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको छ ।
पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन् । त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज जताततै गुञ्जिरहेका छन् । मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन् ।
यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन भएका छन् । तिथिको घटबढले हिजोको साँझ र रात नवमी तिथि परेको हुँदा हिजो दीपावली गरिएको थियोे । जनकपुरधामस्थित दुधमती नदीमा आज बिहानै शाहीस्नान सम्पन्न भएको छ ।यसैगरी आज मध्याह्न १२ बजे विशेष आरती महोत्सव गरी जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको छ ।
प्रतिक्रिया