फिल्म ‘ऊनको स्विटर’को छायांकन सुरु हुदैँ

मंगलबार, ०८ जेठ २०८१, ११ : ५१

काठमाडौँ- फिल्म ‘ऊनको स्विटर’को छायांकन जेठ २५ गतेबाट सुरु हुने भएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने फिल्म  नवीन चौहानले निर्देशन गर्न लागेका हुन् ।

निर्देशन चौहानले उपत्यका गोविन्द शाही र मोफसल वितरण कुवेर सिने डिस्ट्रिब्युसन प्रा।लि फाइनल भएसँगै छायाङ्कन मिति पनि तय भएको जानकारी दिए । फिल्मको छायाङ्कन २५ गतेबाट भए पनि सम्पूर्ण टिम १५ गतेबाटै छायाङ्कन सेटमा पुग्नेछ । छायाङ्कन तयारी लगायत विभिन्न कामका लागि १० दिन अगाडि नै युनिटलाई फ्लोरमा लैजान लागेको निर्देशक चौहानको भनाइ छ ।  

फिल्म पाँचथरका विभिन्न स्थानमा खिचिनेछ । ‘ऊनको स्विटर’  निर्देशक  चौहानको पहिलो फिचर फिल्म हो । फिल्मलाई आर्टमान्डूले निर्माण गर्नेछ । यसअघि आर्टमान्डूले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन् । यसअघि आर्टमान्डूले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन् । फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।  फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् । फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन् । फिल्ममा गायक सुजन चापागाईं र  कोविद बज्रले सङ्गीत, चिन्तनराज भण्डारीको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहनेछ । 

मंगलबार, ०८ जेठ २०८१, ११ : ५१

प्रतिक्रिया