काठमाडौँ – संसदीय दलको नेतालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने अभ्यासलाई जनमत पार्टीले तोडेको छ । ‘संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ’ भनिएको छ । तर जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता महेशप्रसाद यादवलाई नबनाएर सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीले सो निर्णय गरेको प्रदेश सांसद अनिता कुमारी साहले बताइन् । संसदीय दलको बैठकबाट सिंहलाई सर्वसम्मतिले मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको उनले बताइन् ।
यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवको चर्चा थियो । मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदासम्म महेश यादवको चर्चा थियो ।
सरोज यादवले विश्वासको मत लिँदा बहुमत नपाएपछि प्रदेशसभामा सबैले महेश यादवलाई नै अगामी मुख्यमन्त्रीका लागि बधाई दिँदै थिए । तर आज संसदीय दलको बैठकले शतिश सिंहको बारेमा निर्णय गरेको छ ।
।
प्रतिक्रिया