मकवानपुरमा तीन वटा पक्की पुलको उद्घाटन

२ हप्ता अगाडि

काठमाडौँ - मकवानपुरको मनहरिमा एकै दिन तीन वटा पक्की पुलको उद्घाटन गरिएको छ ।  मनहरि गाउँपालिकाको बजेटमा निर्माण भएको तीनवटा पक्की पुल शनिबार मकवानपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । 

उद्घाटन गर्दै उनले गाउँको विकासका लागि सक्दो सहयोग गर्ने बताए । विकास निर्माणका कार्यमा सधैँ जनताको साथमा रहेको प्रतिक्रिया दिए ।पालिकाको बजेटमा बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण भइरहेको पाँच पक्की पुल मध्ये शनिबार तीन वटा पक्की पुलको निर्माण सम्पन्न भई उद्घाटन गरिएको थियो । सांसद बानियाँले वडा नं.१ र २ जोड्ने च्यापल खोला पुल, वडा नं. ३ र ४ जोड्ने मसिने खोला पुल र वडा नं. ४ र ५ जोड्ने ट्वाङग्राखोलाको पुल उद्घाटन गरेका हुन्  ।

गाउँपालिकाले बितेको आर्थिक वर्ष ०७७\७८ मा आन्तरिक स्रोतबाट पाँच वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेको थियो ।अन्य दुई वटा पुलको निर्माण कार्य मङ्सिरसम्म सम्पन्न भइसक्ने मनहरि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए  ।

ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिर्दै उनले स्थानीय सरकारको आन्तरिक स्रोतबाट जनताका लागि ठुलो काम गर्न सकिएको बताए  । पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले पुल नहुँदा विद्यार्थीले धेरै समस्या भोग्नु परेको स्मरण गर्दै ट्वाङ्ग्रा खोलामा विद्यार्थी तार्नका लागि शिक्षकहरू नै खटाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले ग्रामीण क्षेत्रमा भएको विकासको प्रशंसा समेत गरे । 

२ हप्ता अगाडि

प्रतिक्रिया