काठमाडौँ - बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- २२ पुरैनीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।
उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनील घोषले पाठेघरको मुख नियमितरुपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताए । पाठेघरमा घाउ भएनभएको जाँच गरिने डा.घोषले बताए । क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउन सके क्यान्सरको जोखिम टर्ने उनले बताए। गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा।घोषले २४ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव दिए।कान्ति आरोग्य अस्पतालका डा.रोमा बोराले नियमित पाठेघरको जाँच गराउन आग्रह गरे ।
शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि एक लाख र लुम्बिनी प्रदेश सरकारले दुई लाख दिँदै आएको छ । यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार दिने गरिएको छ । स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ । शिविरमा भेरी अस्पतालका मेडिकल अधिकृत डा।समीक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाका सिनियर अनमी निरीक्षक प्रेमकुमारी विसीले जानकारी दिए ।
प्रतिक्रिया