मौरीपालनबाट भोजपुरमा एक वर्षमा एक करोड बढी आमदानी

सोमबार, २८ जेठ २०८१, १३ : ५३

काठमाडौ – भोजपुरको किसानहरुको लागि मौरी पालन व्यवसाय निकै फलिफाप भएको छ । जिल्लाको नागी क्षेत्रका किसानको लागि मह आम्दानीको राम्रो स्रोत बनेको छ । व्यवसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ गाउँपालिका(४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिकरूपमा मौरीपालन गरिरहेका छन् ।


मह उत्पादनको लागि त्यहाँको वातावरणले पनि साथ दिएको छ । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले सुनाए । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने भन्दै सारुहाङले स्थानीय बजारमा मह प्रतिकेजी एक हजार पाँच सयमा बिक्री हुने गरेको बताए ।

उनले भने, ‘मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छौँ ।’ नागी क्षेत्रबाट एक वर्षमा एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राई बताउँछन् । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ । भौगोलिकरूपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पुर्‍याउले लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए ।

‘हाम्रो क्षेत्रमा मौरीपालनबाट एक करोड बढी भित्रिएको अवस्था छ’, वडाध्यक्ष राईले भने, ‘यहाँका अधिकांश किसानले मौरीपालन गरिरहेका छन् । मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।’

सोमबार, २८ जेठ २०८१, १३ : ५३

प्रतिक्रिया