काठमाडौँ - मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो ।
मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू- भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने छ ।
दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । मौसमविद्ले वाग्मती प्रदेशमा पनि छिट्टै मनसुन सक्रिय हुने जानकारी दिएका छन् । काठमाडौँ उपत्यकालगायत वाग्मती प्रदेशको केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया