काठमाडौँ - दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । प्याकुरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै राजदूत पद अस्वीकार गरेको जानकारी दिएका हुन् ।
उनले सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको बताएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, “आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु ।”
साथै उनले आफूलाई बधाई, शुभकामना दिँदै सद्भाव प्रकट गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएकोसमेत बताएका छन् ।
राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले आठ देशमा राजदूत सिफारिस गरेको थियो । सिफारिस गरिएका राजदूतहरूमध्येका अधिकारकर्मी प्याकुरेलले उक्त पद अस्वीकार गरेका हुन् ।
प्रतिक्रिया