लुटपाट गरेको आरोपमा २ भारतीय पक्राउ

शुक्रबार, १४ असार २०८१, १४ : २०

काठमाडौँ - काठमाडौंमा भीख माग्ने बहाना बनाएर लुटपाट गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँ बस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका- ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुलीको कमलामाई नगरपालिका- १२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेका थिए । 

उनीहरू दुवै जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । भीख माग्ने बहाना बनाएर पीडितको घरमा आएका देवु र जेलिना ती महिलाले कानमा लगाएको सुनको रिङ लुटेर भागेका थिए । घटनाको जानकारीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

शुक्रबार, १४ असार २०८१, १४ : २०

प्रतिक्रिया