मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को लागि अडिसन हुँदै

शनिबार, १२ साउन २०८१, १२ : ०२

काठमाडौँ - ‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यही सोमबार अडिसन  हुने भएको छ । प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जना मध्य ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाडौँमा छनोट हुने आयोजकले जनाएको छ ।

अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् । त्यस्तै आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ्ग डिरेक्टर आलोक छेत्री, सिइओ एवम् प्रेसिडेन्ट सबी पुरी र मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गीता पुरीले जजको रूपमा अडिसन लिने भएका छन् । 

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यम देखी सहभागिता जनाउने छन्  । यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरू सिकाइने आयोजकले जनाएको छ ।  

यसपालिको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गीता पुरीले जानकारी दिइन् । ‘मिस युनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदै छ । विजेताले नोभेम्वरमा हुने मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा १०० देशहरूसँग प्रतिस्पर्धा गर्नेछिन् । 


 

शनिबार, १२ साउन २०८१, १२ : ०२

प्रतिक्रिया