१५ वर्ष निरन्तर सत्तामा रहेकी प्रधामन्त्री शेख हसिना वाजेद विद्यार्थी आन्दोलनका कारण देश छोडेर भाग्न बाध्य भएकी छिन् । सारा विपक्षीलाई दबाएर लगातार तेस्रोचोटि अत्यधिक बहुमतसहित प्रधानमन्त्री जितेकी र सयौंको हताहतीपछि देश छोडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको शरणमा पुगेकी छन् । गत महिना शुरु भएको विद्यार्थी आन्दोलन चर्कंदै जाँदा उनको सत्ता मात्र ढलेन, देशसमेत छोड्न बाध्य हुनुपर्यो ।
प्रधानमन्त्री हसिना तिनै नेतृ हुन जसका बाबुले बंगलादेशलाई पूर्वी पाकिस्तानबाट स्वतन्त्र बनाएका थिए । शेख मुजिबर रहमान अर्थात बंगलादेशका राष्टपिता । आजभन्दा ५० वर्ष पहिले एउटा सैनिक विद्रोहमा रहमानको परिवारको नै हत्या भयो । शेख हसिना र उनकी बहिनी अमेरिकामा रहेकोले बाँच्न सफल भए । त्यसपछि उनी स्वदेश फर्केर लोकतन्त्र बहालीको आन्दोलनको नेतृत्व गरिन । अर्की नेतृ बेगम खालिदा जियासँग मिलेर गरेको आन्दोलनपछि एर्सादको सैनिक शासन ढलेको थियो । त्यसपछि जिया र हसिना पालैपालो सत्तामा पुग्ने गरेका थिए । जिया भने अहिले आजीवन कारावासको सजाय भोगिरहेकी छिन् । हसिना रुँदै देश छोडेकी छिन् । देश छोड्नुअघि हसिनाको देशवासीलाई सम्बोधन गर्ने इच्छासमेत पूरा भएन । उनी राजीनामा दिएर राष्ट्रको नाममा सँबोधन गर्न चाहन्थीन । तर, आरक्षण कोटाको विरोधमा उर्लिएको विद्यार्थी जुलुश यति भयानक भयो कि उनी भर्खरै नियुक्त काकाका ज्वाईं सेनापति वकर उज जमानको सहयोगसहित हतारमा सैनिक हेलिकोप्टर चढेर भारततर्फ लाग्नुपर्यो ।
उनले देश छोड्ने दिन पनि सैन्य कारवाहीमा ९१ जनाले ज्यान गुमाएपछि आन्दोलन थप चर्किएको थियो । हिजो बिहानैदेखि आन्दोलनकारीहरुले प्रधानमन्त्री निवास गणभवन घेरेका थिए । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिए पनि ठूलो संख्यामा रहेका आन्दोलनकारीले अन्धाधुन्द ढुंगा प्रहार गरेका थिए । आन्दोलनकारीको संख्या यति धेरै थियो कि सुरक्षा संयन्त्रले नियन्त्रणमा लिन सकेन ।
अब बंगलादेशमा के होला भन्ने चासो छिमेकी मुलुकहरुमा बढेको छ । लोकतन्त्रको भविष्य के हुने हो ? सैनिक शासन सुरु हुनेपो हो कि भन्ने चर्चा चल्न थालेको छ । नेपालमा पनि त्यहाँको घटनापछि सतर्कता अपनाइएको छ । सामाजिक सञ्जालमा मानिसहरुले नेपालमा पनि त्यस्तो विद्रोहको कामना गरेर आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् । सैन्य शक्तिको हिसाबले विश्वको ३७ औँ स्थानमा पर्ने बंगलादेशको सेना ुटेकओभरु को मनस्थितिमा रहेको बताइन्छ । बंगलादेशमा थल,जल र वायु सेना छन् । एक लाख ६३ हजार थल सेना छ । उनीहरुसँग ३६ वटा तोपखाना र ३२२ वटा ट्यांक रहेको छ । त्यस्तै, ६७ वटा मल्टिपल रकेट लन्चर पनि छन् ।बंगलादेशी वायु सेना पनि सशक्त नै मानिन्छ । ऊसँग २१० युनिटको एयर क्राफ्ट,३६ वटा फाइटर जेट र ७३ वटा हेलिकोप्टर छन् । वायुसेनामा करिब २८ हजार सेना सक्रिय रहेको बताइन्छ । जल सेनासँग ७ वटा फ्रिगेट र दुई वटा सबमरिन (पनडुब्बी) रहेको बताइएको छ ।
त्यहाँको शासनको बागडोर सेनाले लिने स्पष्ट संकेतहरु देखिएका छन् । प्रधानमन्त्री हसिनाले देश छाडेको एक घण्टामै सेना प्रमुख जमानले सञ्चारमाध्यममार्फत सँबोधन गर्दै राजीनामा पुष्टि गरे । र,सेनाकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने जानकारी गराए । उनले भनेका छन्, ुहामीलाई विश्वास गर्नुहोस्,मौका दिनुहोस्, आन्दोलनमा मारिएकाहरुमाथि अनुसन्धान गरेर न्याय गर्नेछौँ । थप क्षति हुन नदिन हाम्रै नेतृत्वमा अन्तरिम सरकारको गठन हुनेछ । त्यसको लागि राजनीतिक दलहरुसँग संवाद शुरु भइसकेको छ । म आन्दोलनकारीहरुलाई संयमित हुन आग्रह गर्न चाहन्छु । सेना प्रमुखको यस्तो सम्बोधनले पनि सेना सक्रिय हुने अनुमान सहजै गर्न सकिन्छ । तर सेनाले आफैँ अगाडि सरेर सरकारको नेतृत्व गर्छ वा राजनीतिक दलहरुबीच सहमति जुटाएर बाहिरबाट सहयोग गर्छ भन्ने स्पष्ट सकेको छैन ।
यदि बंगलादेशमा सेनाले सत्ता हातमा लियो भने त्यसको असर दक्षिण एशियामा ूवभाविक रुपमा पर्नेछ । अफगानिस्तानबाट सुरु भएको विद्रोह श्रीलंका हुँदै बंगलादेशसम्म आइपुगेको छ । त्यो नियति नआओुुस् भनेर आसपासमा सतर्कता अपनाइएको छ । अहिले बंगलादेशको को राष्ट्रिय राजनीतिमा चार वटा मुख्य दल छन् । हसिना नेतृत्वको बंगलादेश अवामी लिग सबैभन्दा ठूलो दल हो । त्यस्तै बंगलादेश नेश्नलिस्ट पार्टी,जातीय पार्टी (इर्सद) र कम्युनिष्ट पार्टी अफ बंगलादेश सक्रिय छन् । यदि सेनाले नै सरकारको नेतृत्व गरे राजनीतिक दलहरु आक्रामक हुनसक्ने अन्तराष्ट्रिय मिडियाहरुले टिप्पणी गरेका छन् ।
बंगलादेशको घटनाबाट विश्व राजनीतिमा केही नवीन सन्देश प्रवाह भएको छ । हसिना पाँचौंपटक दुइृ तिहाइ बहुमतबाट निर्वाचित भएकी थिइन । उनले १५ वर्षसम्म शासन गर्दा बंगलादेश उदाउँदो अर्थतन्त्रको रुपमा विकसित भैरहेको थियो । अर्थतन्त्र मजबुत भए पनि त्यहाँ ठूलो आर्थिक असमानता पैदा भएको थियो । ५५ वर्षदेखि सुरु गरिएको कोटा प्रणालीका कारण आम जनता गरीबी, बेरोजगारी र भोकमरीको खाडलमा पर्दै गएका थिए । स्वतन्त्रता सेनानीका सन्तति र शासकीय वर्गका नागरिकहरुको सम्पन्नता भने बढ्दै गएको थियो । राज्य भ्रष्टाचार राज्य संरक्षित बनिसकेको थियो । हसिनामा भने निर्वाचनमा दुइृ तिहाइ बहुमत आएको कारण स्वेचछाचारिता बढेको थियो । उनले एउटा सम्बोधनमा भनकी पनि थिइन, ‘मलाई प्रजातान्त्रिक माध्यमबाट कसैले हटाउन सक्mैन ’ । आखिर भयो त्यस्तै । अचानक भाग्नुपर्यो । अन्तिममा त उनले आफ्नै पिताको शालिक र तस्बिर पनि जोगाउन सकिनन् । देशको सबभन्दा ठूलो पार्टी, कार्यकर्ता र सेनाले पनि उनलाई बचाउन सकेन । त्यसैले आजका शासकहरुमा बदलाव आउन जरुरी छ । जनता जागे भने कुनै शक्तिले पनि बचाउन सक्तैन भन्ने सन्देश दिएको छ बंगलादेशको विद्रोहले । जनतालाई हेप्ने र भ्रष्टाचाको आहालमा डुब्दै देशलाई कंगाल बनाउनेहरुको अब भविष्य छैन । भ्रष्ट र नालायक शासकहरुले इतिहासको व्याज खाएर शासन गर्ने दिन गैसके । केही चाटुकार, विचौलिया र झोले कार्यकर्ताहरुले मात्र अब तिम्रो सुरक्षा गर्न सक्ने छैनन् ।
प्रतिक्रिया