काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज साउन २५ गते शुक्रवारदेखि देशभरीका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ प्रदर्शनमा आएको छ । लामो समयदेखि प्रचार–प्रसारमा व्यस्त भएको यो फिल्मले यसअघि सार्वजनिक ट्रेलर तथा गीतहरुका कारण दर्शकको ध्यान आकर्षित गरिसकेको छ । फिल्मको शीर्ष गीत लामो समयदेखि दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् ।
केही दिनअघि सार्वजनिक ट्रेलरले पनि यूट्युबमा राम्रो भ्यूज पाएको छ भने दर्शकमाझ फिल्मप्रति कौतुहलता बढाएको छ । यो फिल्ममा अभिनेता सरोज खनाल मुखियाको भूमिकामा छन् । फिल्ममा नेपाली समाजमा विद्यमान जातिय विभेदलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि, उच्च तथा तल्लो वर्गका युवा–युवतीबीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
यो फिल्ममा अभिनेता गौरव पहाडीले तल्लो वर्गका युवाको प्रतिनिधित्व गरेका छन् भने अभिनेत्री नम्रता सापकोटाले उपल्लो वर्गको परिवारको प्रतिनिधित्व गरेकी छिन् । राजु गिरिद्वारा निर्देशित यो फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा तथा सरोज खनालसंगै विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरि लगायतको अभिनय छ । सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द, गौतमराज खड्काको सम्पादन छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेका छन् । यसअघि नै यो फिल्मको निर्माण संस्थाले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया