तीन वटा कलेजमा विद्यार्थी भर्नामा रोक

विहीबार, ३१ साउन २०८१, १२ : १९

काठमाडौँँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित तीन वटा कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ ।

मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिको बैठकले काठमाण्डौको ग्लोबल इन्टरनेशनल, जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ र ललितपुरको नेपाल एजुकेशन फाउन्डेशन कन्सोर्टियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न नमिल्ने निर्णय गरेको हो ।

ग्लोबलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको, कश्यपको समकक्षतासम्बन्धी विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको र नेपाल एजुकेशन फाउन्डेशन स्थानान्तरण प्रक्रियामा रहेकाले विद्यार्थी भर्नामा रोक लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखापरीक्षण र कर चुक्ता गरेका, नियमअनुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कलेजहरूमा भने विद्यार्थी भर्ना गर्न मिल्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विद्यार्थी भर्ना गर्न मिल्ने विदेशी सम्बन्धनका ५६ वटा कलेजको सूचीसमेत सार्वजनिक गरेको छ । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्न विज्ञ कार्यदलसमेत गठन गरेको शिक्षामन्त्री विद्या भट्टराईको सचिवालयले जनाएको छ ।

विहीबार, ३१ साउन २०८१, १२ : १९

प्रतिक्रिया