‘अराजक तत्वविरुद्ध आन्दोलन गर्न तयारी अवस्थामा रहनुस्

सोमबार, ०३ भदौ २०८१, ०९ : ५९

 काठमाडौं – बंगलादेशको घटनापछि नेपालमा पनि अस्थिरता पैदा हुने खतरा देखिएको छ । यसै कुरालाई इंगित गर्दै प्रधानमन्त्री केपी ओलीले केही अराजक तत्वहरूले हिंसा भड्काउन खोजिरहेको भन्दै सचेत रहन पार्टीपंक्तिलाई सजग गराएका छन् । अराजकता फैलाउन खोज्ने तत्वसँग जुनसुकै वेला संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने ओलीको भनाइ छ । तर, ती तत्व को हुन् भन्नेबारे भने उनले खुलाएनन् ।

संसदबाट डिआरसी विधेयक पारित भएको सन्दर्भलाई स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भने,  ‘हामीले पीडितमैत्री, पीडितका पक्षमा कानुन बनाएका छौँ । नेपाललाई हामी शान्तिपूर्ण देश बनाउँछौँ । तर, केही भिन्न प्रकारका अराजकताका पक्षमा रहेका तत्वहरूले अन्य गलत प्रयास गरेका छन्,’ ।  ‘यस सन्दर्भमा एमाले तयार हुनुपर्छ, कुनै पनि वेला अराजकताविरुद्ध कानुनी राज्यका पक्षमा, लोकतन्त्र, सुशासन, संविधान रक्षाका लागि आन्दोलनको मैदानमा उत्रिनुपर्ने हुन सक्छ । एमाले तयार भएर बस्नुपर्छ । हामी कुनै पनि गलत प्रवृत्तिविरुद्ध झुक्दैनौँ ।’ उनले भने । 

केन्द्रीय सदस्य कुन्दन कुशवाह र मञ्जु चालिसेलाई आइतबार पार्टी कार्यालयमा शपथ गराउँदै ओलीले सो कुरा बताएका हुन । 
उनले एमाले खुद्रा मसिना खेलमा अल्झिने पार्टी नभएर विजय प्राप्तिका लागि अघि बढ्ने पार्टी भएको बताए । प्रधानमन्त्री ओलीले अबको निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी पार्टी निर्माणमा अगाडि बढ्न ध्यानाकर्षण गराए । 

सोमबार, ०३ भदौ २०८१, ०९ : ५९

प्रतिक्रिया