काडमाडौँ - यशोदा फुड्सले करेन्ट चाउचाउको विषयमा अदालतको अवहेलनाजन्य दुष्प्रचार भएको बताउँदै यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कानुन बमोजिम गर्नू’ भनी सर्वोच्च अदालतले दिएको आदेशको गलत व्याख्या गरी ‘यशोदा फुडसको उत्पादनको विक्री वितरणमै सर्वोच्च अदालतले रोक लगाएको’ भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गर्ने काम भएको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार यशोदा फुडसले उद्योग विभागमा करेण्ट रेगुलर रु। २० मा विक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमा सिजी फुड्स ९नेपाल०ले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको उल्लेख छ । सो निवेदनमा उद्योग विभागले सिजी फुड्सको दावी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेअनुसार २०८० जेठ २९ मा ट्रेडमार्क दर्ता गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यशोदा फुडसले उद्योग विभागबाट ट्रेडमार्क र लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको जनाएको छ । एक लेबल दर्ताको क्रममा भने विपक्षीले विरोध गरेकोले सो लेबलका विषयमा हालसम्म पनि उच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यशोदा फुडसले उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरेको स्पष्ट पारेको छ ।
‘उद्योग विभागबाट प्राप्त संलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र मालबस्तु उत्पादन गरी आएको व्यहोरा अनुरोध गर्दै यस विषयलाई गलत व्याख्या गरी विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा यस्ता हल्लाको पछाडि नलागी निर्वाद रुपमा हाम्रा उत्पादनहरु विक्री वितरण गर्न तथा उपभोग गर्न आर्म उपभोक्ता महानुभावहरु, व्यापारी वर्ग तथा डिलरहरुसमक्ष अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले करेन्ट नामको ट्रेडमार्क र लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गर्दै आएको स्पष्ट पारेको छ ।यसैबीच सीजी फुड्सले भने सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको दाबी गरेको छ।
प्रतिक्रिया