काठमाडौँ - आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
१ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित रहेर ‘ह्विइन माउन्टेन स्माइल’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ यो धेरै राम्रो काम भएको बताए ।
प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बन्धित तस्वीरहरू राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए । एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा मनाउँदै आइरहेको छ।
अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो।
प्रतिक्रिया