पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

मंगलबार, ०४ भदौ २०८१, १२ : ५३

काठमाडौँ - लमजुङमा लेदोसहितको पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । 

आज बिहान यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका- १ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुङ्गामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्लीमा परेका छन् । 

पानी निरन्तर परिरहेको र सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको उनको भनाइ छ । यसै ठाउँमा यसअघिसमेत पटकपटक पहिरो झरेर सडक अवरुद्ध भएको थियो । दलालमाथि केही वर्षअघि ढुङ्गा खानी रहेको र सो खानीमा जमेको पानी फुटेर गत असार यता पहिरो आउन थालेको हो । 

बेँसीसहरदेखि तनहुँ, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । 

मंगलबार, ०४ भदौ २०८१, १२ : ५३

प्रतिक्रिया