चीनलाई २६ अर्ब ऋण अनुदानमा परिणत गर्न आग्रह

शुक्रबार, ०७ भदौ २०८१, ०९ : ३१

 
काठमाडौं –सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेको छ। सरकारले पोखरा विमानस्थल निर्माण गर्न चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रूपैयाँ (१,३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो।

चीनसँग लिएको ऋण महँगो भएको भनेर आलोचना भइरहेका बेला अर्थ मन्त्रालयले अनुदानमा परिणत गर्न आग्रह गरेको हो। ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारलाई औपचारिक प्रस्तावसहितको पत्र पठाइएको अर्थ सचिव रामप्रसाद घिमिरेले बताए। ‘पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा बदल्न पत्राचार गरेका छौं,’ सचिव घिमिरेले भने, ‘चीनले सकारात्मक रूपमा लिने विश्वास लिएका छौं ।’

२०७२ चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई २०७३ पुस २७ गतेबाट निर्माण कार्य सुरु भएर २०७९ पुस १७ गते सम्पन्न भएको थियो। विमानस्थल सञ्चालन हुन नसक्दा ऋणको साँवाब्याज तिर्न हम्मे परेपछि सरकारले अनुदानका लागि चीनसँग आग्रह गरेको हो ।

अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले अनुरोधपत्र बिहीबार चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनलाई हस्तान्तरण गरे। उपाध्यक्ष याङ वेइकुनलाई विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरे।

शुक्रबार, ०७ भदौ २०८१, ०९ : ३१

प्रतिक्रिया