पर्सामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

शनिबार, ०८ भदौ २०८१, १३ : ००

काठमाडौँ - बाघको आक्रमणमा परी पर्साको जिराभवानी गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ । 

गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार बाघको आक्रमणमा परी थारुको हिजो मृत्यु भएको हो । 

गाउँ नजिकैको जङ्गलमा शुक्रबार अपराह्न घाँस काट्न गएको बेला बाघको आक्रमणमा परी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा थापाले बताए । 

उनका अनुसार परिवारजनले थारु हिजो देखि हराएको प्रहरीमा खबर गरेका थिए । त्यस क्रममा प्रहरी र स्थानीय मिलेर संयुक्तरुपमा खोजविन गर्दा शनिबार बिहान थारु मृत अवस्थामा नजिकैको जङ्गलमा फेला परेका थिए ।

एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा उनको शव फेला परेको थियो ।  घटनास्थलको मुचुल्का उठाएर शव परीक्षण ९पोस्टमार्टम०का लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरीको कार्यालयले जानकारी दिएको छ । 
 

शनिबार, ०८ भदौ २०८१, १३ : ००

प्रतिक्रिया