नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति हुन्छ : पर्यटनमन्त्री

शनिबार, ०८ भदौ २०८१, १४ : १९

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गरेका छन् । 

साथै उनले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिएका छन् । भारतको गुजरतामा आयोजित आठौं धर्म–धम्ब सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले नेपालका पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदाहरु रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभूति गर्न सकिने उल्लेख गर्दै सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिएका छन् ।

भूटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरु र अन्य देशका धार्मिक विचारकहरुको ठूलो संख्यामा सहभागिता रहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउँदै शान्ति र करुणको प्रतिकको रुपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरु सदियौंदेखि व्यबहारमा रहेको कुरामा जोड दिए । इण्डिया फाउन्डेसनको पहलमा भारतको गुजरातमा आयोजित सम्मेलनमा धर्म-धम्म हिन्दू र बौद्ध सभ्यक्रताहरूबिच सदियौँदेखि स्थायी निरन्तर रुपमा निकट रहेका विचारहरु भएको र जुन आज पनि सान्दर्भिक भएको बताइएको थियो  । 

अहिलेको बदलिँदो विश्वमा यी दुई विचार बीचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनको मुख्य उद्देश्य यी दुई विचारबिच अपसमा परागसेचन (क्रस पोलिनेशन) गराउने र दुई प्राचीन सभ्यताहरू बीचको सद्भाव बढाउँदै धर्म–धम्म स्वतन्त्रताको वास्तविक महोल खडा गर्ने रहेको छ ।

शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्म बीचको साझा विचारहरुलाई एकीकृत गर्नु आजको भूमण्डलीकरणले युगमा अति आवश्यक ठानिएको विषयमा सो सम्मेलनमा जोड दिइएको थियो । भारत फाउन्डेसन र गुजरात विश्वविद्यालय अहमदाबादसँगको सहकार्यमा गुजरातको अहमदाबादमा आयोजित आठौं सम्मेलनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म-धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । आठौं अन्तर्राष्ट्रिय धर्म धम्म सम्मेलनमा १८ देशका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी रहेको अनुमान छ ।

शनिबार, ०८ भदौ २०८१, १४ : १९

प्रतिक्रिया