विषादी प्रयोगको अवस्था बुझ्न कृषि मन्त्रालयले गठन गर्यो कार्यदल

विहीबार, १३ भदौ २०८१, ०९ : २८

काठमाडौँ – केही दिन यता गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी खेतीमा अधिक विषादी प्रयोग भएको समाचारप्रति सरकारको ध्यानाकर्षण भएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् । 

विषादीको अधिक प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्य  कार्यदल गठन गरेका हुन् । 

मन्त्रालयले गठन गरेको उक्त कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन् ।

कार्यदललाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेस गर्न भनिएको छ । पोख्रेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरु गरिसकेको छ ।

विहीबार, १३ भदौ २०८१, ०९ : २८

प्रतिक्रिया