नेपालको अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ: मन्त्री दाहाल

विहीबार, १३ भदौ २०८१, १४ : ३४

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । 

बिहीबार नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकन गर्दै उनले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोवाईल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याईरहेको उनको भनाई थियो ।

जनतालाई आधुनिक, सुलभ र सुरक्षित अटोमोवाईल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्यका लागि तयार रहेको समेत उनले उल्लेख गरे । अटोमोवाईल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यवसायले नेपालमा नै स्वरोजगारी समेत सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई पनि मन्त्रालयले ध्यान दिने बताए ।

भदौ ११ देखि १६ गतेसम्म आयोजित अटो शो अवलोकनका लागि मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।एसोसिएसनका अध्यक्ष करण चौधरी लगायतले अटो शो तथा नेपालमा अटोमोवाईल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए ।

विहीबार, १३ भदौ २०८१, १४ : ३४

प्रतिक्रिया