काठमाडौँ - चेकसम्बन्धी अपराध तथा बेइमानीको घटना नियन्त्रणको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
बिहीबार कानुनका विद्यार्थीहरूले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर मन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको हुन् । उनीहरूले पछिल्लो समयमा चेकसम्बन्धी अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा बैंकिङ कसुरका सबैभन्दा बढी मुद्दाहरू दर्ता भएका जनाएका छन् ।
चालू आर्थिक वर्षको पाँच महिनामा २ हजार ७०२ वटा चेकसम्बन्धीका मुद्दा दर्ता भएको ध्यानाकर्षणपत्र उल्लेख गरेका छन् । ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘बैंकिङ कसुरको जाहेरी दरखास्त पनि नजिकको प्रहरी कार्यालयमा नै दर्ता हुनुपर्ने हो । तर, काठमाडौँ जिल्लाको हकमा भने जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौँमा मात्र दर्ता हुने गरेको छ । सेवाग्राही वा पीडित अन्य नजिकको प्रहरी कार्यालयमा जाँदा सो कसुरको जाहेरी दरखास्त दर्ता हुँदैन । पीडितले हरेक दिन थप पीडा महसुस गरिरहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा पनि सजिलै जाहेरी दर्ता हुँदैन, दस लाखभन्दा माथिको बिगो रकम भएमा अनिवार्य रूपमा आय स्रोत देखाउनु पर्छ ।’
उनीहरूले काठमाडौँ जिल्ला मात्र नभई अन्य जिल्लामा पनि चेकसम्बन्धी अपराधका घटनाका उजुरी दर्ता हुनुपर्ने माग राखेका छन् । कानुनका विद्यार्थी चेतन जेठारा, सुविना खनाल, हरी पौडेल, अभिषेक बोहरा र सुशान्त शुक्लाले गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
प्रतिक्रिया