काठमाडौंँ - चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ ।
कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका सयौँको सङ्ख्याका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् ।
कालीकोट शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यथाशीघ्र सडक आगमन सञ्चालन होस् भनेर तीनदिदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताए ।
यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन प्रहरीले सहयोग गरेपनि स्याउ बोकेका गाडीहरू भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज सुर्खेत गाडी पुर्याउन नसके लाखौँको क्षति हुने चन्दननाथ नगरपालिका–९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोखे। करोडौँको स्याउ अलपत्र पर्दा यसबाट स्याउ व्यापारीहरु चर्को मारमा परेका छन् ।
प्रतिक्रिया