काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताए ।
उनले भने, ‘अन्याय कसैमाथि हुनु हुँदैन । तर समाजलाई थिति र विधिबाट चलाउनु पर्छ । कानुनको राज हुनुपर्छ । म के स्पष्ट पार्न चाहन्छु भने अहिलेको सरकारले कुनै कसैमाथि अन्यायपूर्ण तरिकाले आफ्नो हित, सत्ता स्वार्थलाई केन्द्रमा राखेर अन्याय अत्याचार गर्दैन । यसमा प्रतिबद्धता सरकारको प्रमुखको रूपमा म चाहन्छु ।’यस्तै, उनले पुष्पकमल दाहाल प्रचण्डले श्रीलंका र बंगलादेशबाट केही कुराहरू सिक्नुपर्ने उपदेश दिएको भन्दै आफूले केही गलत काम नगरेको बताए ।
उनले भने, ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने रु लुटपाट गरेको छु र? जसले चर्को स्वरमा सिक सिक भनिरहेको छ राम्रो तरिकाले आफैँ सिक्नलाई आग्रह गर्दछु । नेपाल कुनै देशको फोटोकपी गर्ने देश होइन । यहाँ आफ्नै इतिहास र परम्परा छ । झुट अहिलेसम्म बोलेको छैन बोल्दिन पनि । जानी जानी कसैको अधिकार हनन गरेको छैन, गर्दिन । जानी जानी कसैको अहित गरेको छैन गर्दिन र नराम्रो काम गरेको छैन गर्दिन तसर्थ म ढुक्क छु ।’ राजनीति र राज्य व्यवस्थालाई घृणा गर्नु भनेको सामाजिक अराजकता मात्र भएको उल्लेख गर्दै उनले यसले समाजलाई कुनै राम्रो परिणाम नदिने बताए ।
प्रतिक्रिया