काठमाडौं – नेकपा (माओवादी केन्द्र) की स्थायी कमिटी सदस्य समेत रहेकी पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले दाङको विकासमा साझा प्रयास आवश्यक रहेको बताएकी छिन ।
पूर्वमन्त्री शर्माले दाङको विकासको लागि सबै दलहरुको साझा प्रयास र साझा धारणा आवश्यक रहेको बताएकी हुन । प्रेस सेन्टर नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री शर्माले सो कुरा बताएकी हुन ।
उनले दाङमा मुख्यगरी घोराही तुलसीपुर फोरलेन सडक निर्माण, टरिगाउँ एयरपोर्ट विस्तार, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको पठनपाठन तथा दाङलाई छिमेकी जिल्लासँग जोड्ने सडकहरुको निर्माण र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताइन । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पठनपाठन करिव अन्तिम चरणमा पुगिसकेको छ, टरिगाउँ एयरपोट विस्तारका लागि बजेट शीर्षकमा परेको छ, अब बजेट थप गर्न पनि सकिन्छ’– पूर्वमन्त्री शर्माले भनिन – ‘घोराही तुलसीपुर फोरलेन सडकको निर्माण र घोराही–मुर्कुटीलगायतका सडक निर्माणमा पनि पहल भइरहेको र केही कानुनी समस्याले ढिलाइ भएको छ । यी सबै मुख्य–मुख्य कामका लागि दाङका राजनीतिक दल, नेतृत्वबीच सहकार्य आवश्यक छ ।’
कार्यक्रम प्रेस सेन्टर नेपाल दाङकी कार्यवाहक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको र स्वागत गिरिराज नेपाली र सञ्चालन सचिव जनक नेपालीले गरेका थिए ।
प्रतिक्रिया