माओवादीले किन जारी गर्यो  ‘बोल्ड’ परिपत्र ?

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) मा जारी आन्तरिक विवाद र असन्तुष्टि मत्थर हुनुको साटो झनै फैलिन थालेको छ । अध्यक्ष प्रचण्डले जहाँ गए पनि पार्टीमा अब कुनै समस्या नभएको भनेर कार्यकर्तालाई थामथुम पार्ने गरिरहेका छन् । अहिले प्रचण्ड पदाधिकारीसहित प्रदेशका परामर्श बैठकमा सहभागी भैरहेका छन् । उनको भनाइले नै पार्टीमा विवाद र अन्तरबिरोध भुसको आगो झैं फैलिरहेको अनुमान गर्न सकिन्छ । उनी आफै सहभागी सुदूरपश्चिमको बैठकमा केही नेताले खुलेरै अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे भने कर्णाली  प्रदेशमा झण्डै आधाले उपमहासचिव जनार्दन शर्माको प्रस्तावको पक्षमा मत राखे । 
यसैबीचमा नुवाकोट घर भएका माओवादीका युवा नेताले एउटा चर्चित अनलाइनमा लेख लेखेर पार्टी इतिहासकै कठिन मोडमा पुगेको 

धारणा राखेका छन् । उनको लेख माओवादी पार्टी पंक्तिमा अहिले चर्चाको विषय बनेको छ । 
सम्भवत यिनै कारणहरुले माओवादी केन्द्रले दुई साताको बिचमा मातहतका कमिटीलाई दोस्रो पटक परिपत्र (सर्कुलर) जारी गरेको छ । साउन २५–३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णय सम्बन्धमा माओवादीले भदौ २ गते मातहतका कमिटीमा परिपत्र जारी गरेको थियो । तर परिपत्र जारी भएको दुई हप्तामा फेरि अर्को परिपत्र जारी गरेपछि नेताहरू नै आश्चर्यमा परेका छन् । 


नेताहरूले दुई साताको बिचमा थपिएको विषयमा किन अक्षर ‘बोल्ड’ गरेर परिपत्र जारी गरियो भनेर चासो व्यक्त गरेका हुन् । ‘मिति २०८१ भाद्र २ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको परिपत्रमा बोल्ड गरिएका विषयहरू थप गरी पुनः परिपत्र गरिएको ब्यहोरा जानकारी गराइन्छ’, अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ । 

पार्टी निर्माण र विचार सश्लेषणबारे उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले स्थायी समिति बैठकमा १४ बुँदे लिखित फरक प्रस्ताव पेस गरेका थिए । उक्त फरक मतमा उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सचिवालयबाट जनार्दनले पार्टी विभाजन गर्न लागेको हल्ला फैलाउने काम भएको भन्दै तीव्र असन्तुष्टि पोखेका थिए । शर्माले पार्टी विभाजन लागेको भन्ने सम्बन्धमा प्रचण्डले नै क्लियर गर्नुपर्ने अडान राखेका थिए ।

साउन ३१ गते बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले पार्टी फुटाउने आफ्नो उद्देश्य नभएको भनेर जनार्दनबाट स्पष्ट कुरा आइसकेको भन्दै अब कुनै भ्रम पाल्न आवश्यक नभएको बताएका थिए । शर्माले राखेको फरक मतलाई तल्लो कमिटीसँग लैजाने र फुटबारे आफ्नो सचिवालयबाट बाहिरिएको विषयमा छानबिन गर्ने समेत प्रचण्डले प्रतिबद्धता जनाएका थिए । 

साथै प्रचण्डले बैठकमा उठेका विषय परिपत्रमा उल्लेख गर्ने स्पष्ट पारेका थिए । तर पहिलो पटक जारी भएको परिपत्रमा प्रचण्डले प्रतिबद्धता जनाएअनुसार विषय उल्लेख भएन । त्यसपछि शर्माले भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएका परामर्श बैठकमा सोसम्बन्धी प्रश्न उठाएका थिए । स्थायी समिति बैठकमा अध्यक्षले प्रतिबद्धता जनाए अनुसारको विषय परिपत्रमा उल्लेख नभएपछि प्रचण्डसँग प्रभाकर झोक्किएको एक केन्द्रीय सदस्यले आजको अर्थलाई बताए । 

‘पार्टी फुटको विषयमा अध्यक्षले क्लियर गर्ने कुरा उल्लेख नभएकोमा प्रभाकर कमरेडले प्रश्न उठाउनुभएको थियो । अर्को सचिवालयबाट नै पार्टी विभाजन गर्न लागिएको हल्ला फैलाएकोप्रति सत्यतथ्य पत्ता लगाउन छानबिन गर्ने भनिएको थियो । त्यो विषय किन समेटिएन भनेर असन्तुष्टि राख्नुभएको थियो । बैठकमा एउटा निर्णय हुने तर सर्कुलरमा ठिक ढंगले जारी नगर्ने, यस्तो तरिकाबाट पार्टी कहाँ चल्छ ?’, प्रभाकरको भनाइ उदृत गर्दै ती सदस्यले भने ।

त्यसपछि भदौ १५ गते यसबारे उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङ समेतले शर्माले उठाएको विषय परिपत्रमा उल्लेख भइसकेको दाबी गरेका थिए । तर शर्माले प्रतिवाद गर्दै ‘परिपत्रमा कहाँ छु भनेर भनेर देखाउन चुनौती दिएपछि बल्ल अर्को परिपत्र जारी भएको ती नेताको भनाइ छ । स्रोतका अनुसार जनार्दनको असन्तुष्टिलाई बुझेर अध्यक्ष प्रचण्डले गुरुङलाई तत्काल अर्को परिपत्र जारी गर्न निर्देशन दिएकै कारण ‘बोल्ड’ सर्कुलर आएको हो । 


 

 

२ हप्ता अगाडि

प्रतिक्रिया