ठमेलमा स्थानीयहरुलाई निदाउनै समस्या

मंगलबार, १८ भदौ २०८१, ०८ : ३४

काठमाडौं – सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि रात छिप्पिँदै जाँदा स्थानीयहरुलाई निन्द्रामा समस्या भएको छ । ठमेलका एक स्थानीय महेन्द्र महर्जन छाँया सेन्टरको नजिकै बस्छन् । उनी आनन्दले सुत्न नसकेको धेरै दिन भैसक्यो । उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ 


स्थानीय व्यवसायीले रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले  आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए ।

ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन् । रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए ।

‘क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन’, उनले भने, ‘प्रहरीमा कुरा पुर्याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ ।’ स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गरे ।


काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिए । ‘यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ’, उनले भने ।

अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए । ‘सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ’, उनले भने, ‘ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन् । यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ ।’


यसैगरी ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए । परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनले जानकारी दिए । “आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौँ । आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौँ”, उनले भने ।
 

मंगलबार, १८ भदौ २०८१, ०८ : ३४

प्रतिक्रिया