काठमाडौं – बाँकेकी निर्मला कुर्मीको हत्याको मुख्य अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
नेकपा (बहुमत) बर्दियाले लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्रीसमेत रहेका बादशाह कुर्मीलाई पदबाट तत्कालै बर्खास्त गरी कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएको हो ।
साथै बहुमतले जिल्ला प्रशासन कार्यालय, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्मलालाई न्याय दिलाउन पहल गर्न आग्रह गरेको छ । त्यस्तै, लुम्बिनी प्रदेश सभाका फरार सांसद धनबहादुर केसी (डिबी) लाई पदबाट हटाउन पनि माग गरिएको छ । जिल्ला अदालत रुकुमको फैसलाबमोजिम उनलाई कारबाही गरिनुपर्ने बहुमतको भनाइ छ ।
सांसद केसीलाई सम्बन्धविच्छेदको नक्कली कागजात बनाएको भन्दै श्रीमती राधा केसीले दायर गरेको मुद्दामा अदालतले दोषी ठहर गरेको छ । उनलाई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । तर, उनले हालसम्म सजाय भुक्तान गरेको छैनन् । केसी नेपाली काँग्रेसका सांसद हुन् ।
प्रतिक्रिया