तीज पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न राष्ट्रपति पौडेलको सन्देश

शुक्रबार, २१ भदौ २०८१, ०९ : ०३


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले एक शुभकामना सन्देश दिंदै हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।

राष्ट्रपति पौडेलले तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै, देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गरेका छन् ।


सन्देशम,ाराष्ट्रपति पौडेलले विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बताए ।

यसैगरी शुभकामना सन्देशमा उनले समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् भन्दै आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कलासंस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु अति आवश्यक रहेको बताएका छन् । साथै, यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्किलोपन तथा खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसङ्गतिलाई हटाउँदै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न पनि आवश्यक देखिएको उनको भनाइ छ ।

शुक्रबार, २१ भदौ २०८१, ०९ : ०३

प्रतिक्रिया