काठमाडौं – डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । प्रत्येक साताको शुक्रबार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना अघि सारिएको छ । यो अभियान उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सुरु भएको हो ।
सो अभियानको पहिलो दिनमा नगर प्रमुख टिकाराम खड्का, महाशाखा प्रमुख, स्वास्थ्यकर्मी, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारको टोलीले विभिन्न क्षेत्रहरूमा सचेतना कार्ड वितरण गर्दै लार्भा नष्ट गरेका छन् ।
अभियानको क्रममा सबैभन्दा धेरै कवाड संकलन केन्द्र, होटल र केही घरमा राखिएका गमला, टायर, ड्रममा सरसफाइको अभाव देखिएको थियो । जहाँबाट भेटिएका लार्भा नष्ट गरिएको छ । नगर प्रमुख टिकाराम खड्काले नगरवासीलाई डेङ्गीबाट जोगिन सतर्कता अपनाउन अपिल गर्दै वातावरणीय सरसफाइमा स्थानीय सरकारको मात्र भर नपरी नागरिकहरूले पनि आफ्नो कर्तव्यका रूपमा पालना गर्न आग्रह गरेका छन् । अभियानका क्रममा जोखिम देखिएका क्षेत्रमा हरेक सातामा अनुगमनलाई तीव्रता दिने जनस्वास्थ्य महाशाखाका अहेव विष्णु गिरीले जानकारी दिए ।
तुलसीपुरमा गत वर्ष १ सय ९१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने चालू वर्षको साउन महिनामा २२८ जनाको जाँच गरिएकामा ८९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए ।
प्रतिक्रिया