सरेको सर्यै ‘सिधाकुरा’ को फैसला

शुक्रबार, २१ भदौ २०८१, ०९ : ४६

 
काठमाडौं – बहुप्रतिक्षित ‘सिधाकुरा’को अडियोसम्बन्धी अदालतको अवहेलना मुद्दाको बिहीबार सुनाउने भनिएको निर्णय असोज १० का लागि सरेको छ।

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले बिहीबार फैसला सुनाउने तोकिएको थियो। यसअघि भदौ ६ मा हुने भनिएको फैसला सर्दै गएको हो।

बिहीबार आउने भनिएको फैसला असोज १० मा आउने गरी निसु (निर्णय सुनाउने) मिति सरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

यसअघि नै सर्वोच्चले सिधा कुरालाई अडियो उपलब्ध गराउने, प्रसारण गर्ने सम्पादक, प्रकाशकलाई अदालतमा आफैं उपस्थित हुनेगरी तारेखमा राख्न आदेश गरेको थियो। सिधाकुरा नामक अनलाइन र युट्युब च्यानलमा वैशाख १४ मा अपलोड गरी सम्प्रेषण गरिएको ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकको सामग्री प्रसारण गरेको थियो। त्यसपछि शृंखलाबद्ध रूपमा प्रसारण गरी अपलोड गरिएका थिए।


संवैधानिक इजलासबाट २०७८ वैशाख ८ मा भएको फैसलाको मुद्दाको सन्दर्भमा इजलासमै नरहेका न्यायाधीश, बहस पैरवीमा सहभागी नरहेका कानुन व्यवसायीलाई आरोप लगाइएको सर्वोच्चको ठहर छ।

संवैधानिक इजलासमा विचाराधीन रिट निवेदनमा सरकारी साक्षीको बयान बेहोरा फेर्न लगाउने जस्ता कार्यविधिगत रूपमा असंगत तथ्य समावेश भएको देखिँदा प्रथम दृष्टिमै गलत देखिएको उल्लेख छ। प्रसारण सामग्रीले समग्र न्यायप्रणालीप्रति भ्रम, अनास्था पैदा गरेको अदालतको ठहर छ।

 ‘अदालतको गरिमा, मर्यादामा आँच पुर्‍याउने र अदालतको न्याय सम्पादनसम्बन्धी कार्यमा अवरोध गर्ने उद्देश्यले दूराशयपूर्ण, नियोजित तरिकाले उत्पादन तथा प्रसारण गरेको छ,’ भनिएको छ।
यस मुद्धामा अदालतले कस्तो फैसाल गर्छ भन्ने सर्वत्र चासो रहेको छ । 

शुक्रबार, २१ भदौ २०८१, ०९ : ४६

प्रतिक्रिया