काठमाडौं – नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच नेपाल प्रहरीमा स्टाफ कलेज सरहको मास्टर इन पुलिस साइन्सेस (एमपीएस) सन्चालनका लागि शुक्रबार एक सम्झौता भएको छ ।
उक्त समझदारीपत्रमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन्। सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा एमपीएस रहने बताए ।
साथै उनले रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।
प्रहरी निरिक्षकबाट भर्ना भएर कम्तिमा ८ वर्ष सेवा गरेका प्रहरी निरिक्षक र डीएसपीले एमपिएस कोर्स गर्न पाउँछन् । ३५ जनाको कोटाका लागि प्रवेश परिक्षा लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । केही महिनाभित्रै कोर्स सुरु गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ ।
यो कोर्स सन्चालन हुन थालेपछि प्रहरीको सरुवा बढुवामा ब्यापक प्रभाव पर्ने छ । बढुवाका लागि शक्ति केन्द्र धाउने प्रचलनको अन्त्य हुने प्रहरी प्रधान कार्यालयको विश्वास छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका अनुसार अब एसपीमा ६० प्रतिशत एमपीएस उत्तिर्णहरु बढुवा हुनेछन् भने ४० प्रतिशतको हकमा कार्य सम्पादनलगायत अन्य व्यवस्थालाई हेरिने छ ।
यस्तै, एसएसपीमा रिक्त दरबन्दीको ८० प्रतिशत एमपीएस उत्तीर्णले अवसर पाउनेछन् भने २० प्रतिशत कार्य सम्पादनलगायत आधारमा हुनेछन् । एसएसपीबाट डीआईजीमा बढुवा हुन भने अनिवार्य एमपीएस उत्तिर्ण हुनुपर्ने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एमपीएस प्रवेश परिक्षामा एक जनाले तीनपटक सम्म भाग लिन पाउनेछन् ।
प्रतिक्रिया