काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
शनिवार काठमाडौँमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए ।
उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था नरहेको जिकिर गरे ।उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउन सके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए ।ओलीले नियोजित र प्रायोजित रूपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रूपमा लिने गरिएको बताए ।
उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरू छन्, तिनीहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमिक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ ।’
प्रतिक्रिया