काठमाडौँ - रुपन्देहीमा डेंगु संक्रमण निरन्तर बढ्दै गएपछि नियामक निकायलाई चुनौती थपिएको छ ।
दिन प्रतिदिन डेंगु संक्रमण फैलिन थालेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएपनि त्यसको प्रभाव कम भएको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियानलाई तीव्रता दिइएको छ । रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमा डेंगु संक्रमण भेटिएपछि खोज र नष्ट गर अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।
डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवीका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लवहरु, विद्यालयका प्रतिनिधि र सरोकारवालाहरु खोज र नष्ट गर अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । यही भदौ १५ र १६ गते १३ जनामा डेंगु संक्रमण भेटिएपछि सम्भावित ठाउँको पहिचान गरी सरसफाई गर्न थालिएको छ ।
वर्षातका कारण पानी जमेका ठाउंहरुमा संक्रमण फैलिने गरेको छ । रुपन्देहीको बुटवल, तिलोत्तमा, देवदह, भैरहवा, सैनामैना, लुम्बिनीलगायतका क्षेत्रमा अहिले संक्रमण पाइएको छ । समुदायमा संक्रमण फैलिएसंगैं अस्पतालमा बिरामीको चाप बढेको छ । अहिले डेंगु तराईमा मात्र नभएर पहाडी जिल्लामा समेत फैलिन थालेको छ । विभिन्न अस्पतालका अनुसार रुपन्देहीमा संक्रमण बढ्दो क्रममा छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माका अनुसार थप वर्षात भएपछि सफा पानी जमेका स्थानमा डेंगुको लार्भा हुर्किने र त्यसबाट संक्रमण फैलिन सक्ने भएकाले त्यस्ता ठाउँलाई बढी निगरानी गरिएको छ । संक्रमण ह्वात्तै फैलिनेसक्ने सम्भावना रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालयबाट निर्देशन भएको छ ।
प्रतिक्रिया